Labels

Friday 14 December 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजकसंगको बिशेष अन्तर्वार्ता


हाम्रो पूर्बीय दर्शन अनुसार देव ॠण, पितृ ॠण, गुरु ॠण र माटोको ॠण चुक्ता नगरीकन मान्छेको जीवन सफल हुँदैन भन्ने भनाइ र मान्यता छ । अत: यो अभियानको उद्धेस्य प्राप्तीमा लाग्नुभनेको माटोको ॠण चुक्ता गर्ने एउटा महत्वपूर्ण अबसरलाई गुम्न नदिनु पनि हो 
सबैभन्दा ठूलो समस्या नेपालको भू-राजनितिक अवस्था हो तापनि सास्वत सत्य मृत्‍युलाई संझने हो भने स्वार्थबाट माथि उठन सकिन्छ । स्वार्थबाट माथि उठने बित्तिक्कै भू-राजनित्क समस्यासमस्या रहने छैन र यो समस्या पनि समस्याको रुपमा रहने छैन । बिभिन्न स्तरको स्वार्थका कारण बिद्यमान समस्यालाई कसैले नदेखे जस्तो र कसैले नबुझे जस्तो नाटक गरी गोल मटोलकाम कुरो गरी समस्या समाधान गर्ने कार्यमा सहभागी हुनबाट पन्छनेहरु पनि छन । कुनै पनि समस्या समाधानको सबैभन्दा  ठूलो समस्या यथार्थता नबुझ्ने नभएर बुझ पचाउनेहरु हुन 
(नेपाली संचारका तर्फबाट प्रमोद कुमार सोनी र नमस्ते नेपाल न्यूजका तर्फबाट सविन थापाले संयुक्त रुपमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमारश्रेष्ठसंग चौथो लुम्बिनी-कपिलवस्तु दिवसलाई लक्षित गरी लिइएको अन्तरबार्ता ।)
 के कस्ता कारणहरुले गर्दा लुम्बिनी-कपिलवस्तु दिवस अभियान शुरु गर्न परेको हो?
२००९ को सेप्टेम्बरको शुरुतिर ‘अनलाइन खबर’ पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएको थियो जस्मा दुई कुरा अत्यन्तै संबेदनशील थिए – त्यत्ति ठूलो परियोजना करीब ८०% सम्पन्न भैसकेको भन्ने पहिलो र दोश्रो सन २०१२ सम्ममा सो परियोजना  संपन्न गर्ने किसिमले युद्धस्तरमा काम भैरहेको । नेपालको रास्ट्रियतामाथि चुनौति दिने त्यत्ति ठूलो परियोजना करीब ८०% संपन्न भैसक्ता पनि सरकार, संचार र बुद्धिजिबि कतैबाट पनि कुनै पनि किसिम र स्तरबाट आबाज नउठाइेएकोले सर्बसाधारण यस्तो संबेदनशील खबरबाट बेखबर थिए । यस किसिमको सर्बपक्षीय मौनताका कारण मुलभूत रुपमा भारतीय पक्षद्धारा सिर्जित र त्यस्का कारण दिग्भ्रमित पश्चिमी बिद्धानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो । यसर्थ, बिस्वभरि छरिएर रहेका नेपालीहरु बीच ‘कपिलवस्तु दिवस बिस्व दिवस’को रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थबोध गराउनका खातिर भन्ने सहमति बन्यो । र गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिनुको समेत बहु-आयामिक महत्व हुने भएकोले इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा ‘कपिलबस्तु दिवस विस्व दिवस’को रुपमा मनाइयो । र यस्लाई निरन्तरता दिनको लागि संस्थागत गर्न २०१० मा दुई चरणमा गरी २१ सदस्यीय बिस्व कार्य समिति गठन गरियो यस्को सल्लाहकार मण्डलमा तीन ठूला पार्टीका प्रतिनिधि र दुई बिदेशीलाई समेत समाबेश गरी । र गत बर्षदेखि धेरैको सुझाबलाई ध्यानमा राखी अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान बनाइएको हो ।
अभियान शुरु गर्नुका पछाडि अन्य उद्धेस्यहरु पनि छन कि ?
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले गरिएको कामले नेपालको राष्ट्रियतामा चुनौती दिने काम भएकोले यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै सत्यका प्रतिक र पर्यायबाची वुद्धको नामका कारण उनकै नामबाट नाजायज फायदा लिनका लागि बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने कामलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ ।

लुम्बिनीको बिकासको प्रश्न नेपालको बिकाससंग मात्रै नभएर योसंग थुप्रै अन्तराष्ट्रिय महत्वका प्रश्नहरु समेत जोडिएका छन । उपयुक्त बातावरण तयार गरेर बर्षेनी आउने पर्यटकको केही प्रतिशतलाई मात्रै योगा र ध्यान सिकाएर विस्वमा शारिरिक र मानसिक रुपमा सबलहरुको संख्यामा उल्लेख्य रुपमा बृद्धि गरी विस्व शान्तिमा योगदान सकिन्छ । स्वार्थपूर्ण तवरबाट बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमका कारण बुद्ध र बुद्धिज्ममा आस्थाबान विस्व पर्यटकहरु झुक्केर वा झुक्याइएर नक्कली लुम्बिनी जाने वा लगिने कार्यले उनीहरुको मानबाधिकारको हनन र उनीहरुको आस्थामा भैरहेको कुठाराघातबाट जोगाउने जस्तो महत्वपूर्ण काम हुने भएकोले यो कार्यमा लाग्नु नेपाली नागरिकको हैसियतले मात्रै नभएर बुझ्ने बिस्व नागरिकको समेत दायित्व हो ।
अभियानको संगठनात्मक स्वरुप र हालसम्ममा यस्ले गरेका उपलब्धिहरुबारे केही बताइदिनु हुन्छ कि?
अभियानले बिस्व कार्य समिति गठन गरेको छोटो समयमा नै चौध वटा राष्ट्रिय समिति, नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै समिति र स्थानीय स्तरमा पनि समितिहरु गठन गर्ने काम गरेको छ भने गैरआवासीय नेपाली संघको सिडनीमा भएको सातौं क्षेत्रीय सम्मेलनको क्रममा सेप्टेम्बर १, २०१२ का दिन अभियान र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा नौ सदस्यीय “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” गठन गरेको छ ।
सीमित साधन र श्रोतका बाबजुद बिशेषत: अन लाइन मार्फत नै भने पनि गुगलमा बुद्धको जन्मस्थल भारत देखाउने गरिएकोमा त्यस्लाई सच्याउने, बर्षेनी पचास लाखभन्दा बढी भिजिटर भएको वेलायत म्युजियममा भएको बुद्ध जन्मस्थलबारेको गलत जानकारी सच्याउने निर्णय लिन म्युजियमलाई वाध्य पार्ने, बिस्व स्तरीय पत्रकार जाकारीयाको बुद्धलाई भारतीय परिचय दिने दुस्प्रयासको बिरोध गर्ने, बिस्वभरका ११५ मिलियन जनताको बीचमा जान समर्थ ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल PBS द्धारा बुद्धसम्बन्धी गलत जानकारी सहितको फिल्म सार्वजनिक गर्ने बेलामा त्यस्लाई सच्याउन दबाब दिने, बिस्वमा लाखौं पाठक भएको अन्तरराष्ट्रिय पत्रिका हफिङ्टन पोस्टमा बुद्धिस्ट समुदायकै सम्मानित ब्यक्तित्व एकजना रिङ्गपोछेद्धारा बुद्धलाई भारतीको रुपमा प्रस्तुत गर्ने कार्यको प्रतिबाद गर्ने, नक्कली लुम्बिनीका कारण सिर्जित भ्रम निबारणका लागि सरकारद्धारा गरिनु पर्ने कामको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, अन्तरराष्ट्रिय संगोस्ठी गरी त्यसबाट निस्किएका सुझाबहरु सरकार र ठूला पार्टीहरुलाई बुझाउने, अमेरिकी जुता कंपनीले बुद्धको अपहेलाना हुने गरी उत्पादन गरेको जुत्ताको बिषयमा अमेरिकी राष्ट्रपति ओबामालाई चिट्ठी लेख्ने,  थोरै समयमा नै सत्य तथ्यलाई सार्वजनिक गरिने किसिमका सामग्रीहरु अन लाइन मार्फत यथेस्ठ रुपमा प्राप्त गर्न सकिने बातावरण तयार गर्ने, नेपालीहरु बीच नै यसबारे जानकारी नभएकोले यसबारे जन चेतना जगाउने जस्ता थुप्रै महत्वपूर्ण कामहरु भएका छन ।
यस्तो संबेदनशील बिषय समाधान गर्नतिर नेपालको तर्फबाट खासै अग्रसरता नदेखिनुको कारण के देख्नु हुन्छ ?
सबैभन्दा ठूलो समस्या नेपालको भू-राजनितिक अवस्था हो तापनि सास्वत सत्य मृत्‍युलाई संझने हो भने स्वार्थबाट माथि उठन सकिन्छ । स्वार्थबाट माथि उठने बित्तिक्कै भू-राजनित्क समस्या समस्या रहने छैन र यो समस्या पनि समस्याको रुपमा रहने छैन । बिभिन्न स्तरको स्वार्थका कारण बिद्यमान समस्यालाई कसैले नदेखे जस्तो र कसैले नबुझे जस्तो नाटक गरी गोल मटोल काम कुरो गरी समस्या समाधान गर्ने कार्यमा सहभागी हुनबाट पन्छनेहरु पनि छन । कुनै पनि समस्या समाधानको सबैभन्दा  ठूलो समस्या यथार्थता नबुझ्ने नभएर बुझ पचाउनेहरु हुन ।
अर्को समस्या भनेको संकुचित घेराभन्दा माथि उठन नसक्नु हो । लुम्बिनी बिकासमा राष्ट्रिय र अन्तराष्ट्रिय ब्यक्तिको नेतृत्वको कारण देखा पर्दै आएको बर्तमानका सकारात्मक पक्षलाई सदुपयोग गर्न यो वा त्यो बहानामा ब्यबधान खडा गर्नुभन्दा मैले कसरी योगदान सक्छु भनेर नागरिकले नागरिकीय र जिम्मेवार पदमा बस्नेले पदीय दायित्वबोध गर्ने हो भने लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । आफूले केही गर्न नसके पनि केही गर्न खोज्नेको लागि ब्यबधान सिर्जना नगरिदिंदा मात्रै पनि यस्ले सत्यका पर्यायबाची बुद्धमाथि उन्कै नामलाई दुरुपयोग गर्दै गरिएको घोर अन्यायको पनि बिस्तारै अन्त्य गर्दै जानेछ । यसो गर्न सकिएमा मात्रै सत्यका पर्यायबाची बुद्धमाथि साँचो अर्थमा आदर गरेको ठहरिनेछ ।
यो अभियानको उद्धेस्य प्राप्तीमा के कस्ता समस्याहरु सामना गर्न परेको महसूस गर्नु भएको छ? 
पहिलो कुरो त बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले आ-आफ्नो ब्यस्त जीवनका बाबजूद स्वयं सेवकको रुपमा सीमित साधन र श्रोतका बाबजुद यस्तो चुनौतिपूर्ण काममा लाग्न पर्नु आँफैमा चुनौति हो । त्यसमाथि बिभिन्न रुपमा बिभिन्न स्तरबाट यो अभियानका गतिबिधिहरुमा ब्यबधान सिर्जना गर्नेहरु बेला बेलामा देखा पर्छन । युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको कारण बुद्ध लुम्बिनीमा जन्मेको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा हुनु अर्को समस्या हो जस्ले यस किसिमका आवाज उठाउनु आबस्यक देख्दैनन । उनीहरुको सो दिग्भ्रमले अभियानको गतिबिधिमा ब्यबधान सिर्जना गर्न खोज्नेहरुलाई बल पुर्याइ रहेको छ । कोही समस्यालाई बुझेर पनि सीमित स्वार्थका कारण मौन बस्न खोज्छन । आजको स्वार्थपूर्ण समाजमा यस्तो कामको लागि नि:स्वार्थ किसिमबाट लाग्नु पर्ने भएकोले खटने मानिसहरु पाउन पनि समस्या छ ।  यी त भए मानबीय समस्या ।
अर्को समस्या छ प्रबिधिसम्बन्धी । अभियानको नाम पहिला कपिलवस्तु दिवस अभियान थियो । अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान बनाउने बेलामा ह्याकरले अभियानको नाममा खोलिएको फेसबुक एकाउण्टलाई मेरो ब्यक्तिगत नाममा परिवर्तन गरिदियो जस्लाई अभियानको नयाँ नाम अनुरुप परिवर्तन गर्न खोज्दा धेरै पटक नाम परिवर्तन गरेको मेसेज आउँछ जस्लाई हामीले कहिल्यै नाम परिवर्तन नै गरेका छैनौं । त्यस्को फ्यान क्लबमा धेरै फ्यानहरु हुँदाहुँदै मेरो नाममा दुई एकाउण्ट भएको कारण सो एकाउण्ट डिआक्टिभेट गर्यौं । त्यसरी नै अभियानको नाममा विकिपेडियामा धेरै समय लगाएर खोलिएको सामग्री ह्याकरले केही महिनाभित्रै बन्द गराइदियो । अभियानको नाममा खोलिएको ईमेल ह्याकरले ह्याक गरिदियो जस्मा धेरै महत्वपूर्ण ब्यक्तिहरुसंगको पत्राचार र उनीहरुको ठेगाना थिए । एकातिर भ्याइ नभ्याइ आफ्नै खल्तीबाट खर्च समेत गरेर काम गरिरहेका छौँ भने अर्कोतिर यी याबत समस्याहरुले गर्दा सोंचाइ अनुरुप काम गर्न सकिरहेका पनि छैनौं ।
यो समस्या समाधानका लागि आगामी दिनमा के कुरामा जोड दिनु पर्ने देख्नु हुन्छ ?
बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमको मूल श्रोत बिभिन्न देशको पाठ्य पुस्तकमा रहेको गलत जानकारी नै हो । PBS, British Museum, Huffington Post आदि समस्या यही मूल श्रोतका कारण सिर्जित नयाँ समस्या हुन । त्यसैले अभियानले तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई बुझाएको ज्ञापन पत्रमा दिइएको जोड कार्यन्वयन हुँदा प्राप्त हुने परिणाम कोरियाबाट शुरु भएको छ सरकारले अभियानको सुझाबलाई कार्यन्वयन नगर्दैको बाबजुद पनि । कोरियाबाट बुद्ध जन्मस्थलबारे पाठ्य पुस्तकमा सुधार्न शुरु भएको यस महत्वपूर्ण उपलब्धीलाई अन्य देशमा पनि निरन्तरता दिन प्रयास गर्नु नै आगामी दिनका प्रथम प्राथमिकता हुनेछ । संधै जस्तै भबितब्य रुपमा देखा पर्ने समस्याका साथै अन्य समस्याहरुलाई सीमित साधन र श्रोतका बाबजुद समाधान गर्न प्रयास जारी राखिने नै छ ।
यस्को गतिबिधिहरु अन लाइन र मूलत: फेसबुकमा केन्द्रित हुनाको कारण के हो ?
हुन त यो अभियानका गतिबिधिहरु फेसबुकमा मात्रै सीमित छैनन र पनि अन लाइनमा नै केन्द्रित हुनुका पनि आफ्नै कारणहरु छन । पहिलो कुरो त, फेसबुक अहिलेको जमानाको हट केक हो । हामी जस्तो सीमित साधन र श्रोतका साथ स्वयंसेवकको रुपमा काम गर्नेहरुको लागि योभन्दा राम्रो बिकल्प अरु हुन सक्तैन । दोश्रो, यही समस्या अरु देशमा हुन्थ्यो भने पहिलो कुरो त सरकार मौन बस्थेन, कथं कदाचित सरकार मौन भए पनि संचारको क्षेत्र चुप लाग्थेन । कतिपय कुरा नकारात्मक हुँदा हुँदै पनि हाम्रो सन्दर्भमा फेसबुकले जन सन्चार भूमिका निर्बाह गरिराखेको छ । राष्ट्रियताका महत्वपूर्ण मुद्धाहरु यहीँ उठाइेएका हुन्छन जुन कुरा सन्चारका अन्य माध्यममा पाउन सकिन्न । भारतीद्धारा नेपालभित्रै पसेर अत्यन्तै बढी मात्रामा हत्या, लुट, बलात्कार जस्ता कार्य गरिएको बेलामा १५ जुन २००९ मा बिभिन्न देशमा बिरोध कार्यक्रम हुँदा यही फेसबुक मार्फत अन्तराष्ट्रिय रुपमा अन लाइन बिरोध कार्यक्रम पनि गरियो । त्यस्को लगत्तै भारतद्धारा निर्माणाधिन नक्कली लुम्बिनी, नक्कली कपिलवस्तुको बिरोध गर्दै यो अभियानको सूत्रपात पनि यहींबाट भएको हो । अन्त नउठाइेएका राष्ट्रियतासम्बन्धी तथा समसामयिक महत्वपूर्ण बिषयबस्तु यहीँ पाईन्छन ।
फेसबुकमा अभियानसंग सम्बन्धित नेपालीमा सामग्री राख्नुको के औचित्य भन्ने पनि प्रश्न छ । यो बिषयबस्तुमा हाम्रो संचारका माध्यमहरुमा खासै सामग्री नपाईने हुनाले धेरै नेपाली अझै पनि यो कुराबाट अनभिज्ञ छन र यस्तो अवस्थामा  जन चेतना जगाउनु पनि हाम्रो दायित्व हो । नेपालीमा उखान छ – एक थुकी सुकी, हजार थुकी नदी भन्ने । नयाँ देखा पर्ने ब्यक्ति हामी पहिलादेखि लाग्नेभन्दा सक्षम र प्रभाबशाली पनि हुन सक्नुहुन्छ । त्यस्को खोजीमा छौं हामी, त्यस्को प्रतिक्षामा छौँ हामी यो स्वार्थपूर्ण समयमा ।
एकातिर अंग्रेजीमा लेखिएका सामग्रीहरु र पोस्टरहरुको बिदेशीहरु बीच माझ आफ्नै किसिमले असर पारेको छ भने अर्कोतिर फेसबुकमा झन्डै सवा मिलियन समर्थक भएको पिबिएस, आधा मिलियनभन्दा बढी समर्थक भएको जाकारीया र करीब चौथाइ मिलियन समर्थक भएको व्रिटिश म्युजियमको पेजमा नै गएर आबस्यक पर्दा हामीले दिएको ब्यापक दबाब बिदेशीहरुबाट छुपेको छैन । त्यसरी नै यही बिषयबस्तुलाई साथ दिने अभिप्रायले फेसबुकमा खोलिएका थुप्रै ग्रुपका गतिबिधिको केही न केही प्रभाब र असर बिदेशीहरुमा परेको छैन भन्न सकिन्न । हामीले लाइक र कमेण्ट नगरिने सामग्री हामीले देख्दै नदेखिने भन्ने होइन । लाइक र कमेण्टका पछाडि धेरै कुराहरु छन । हामी फेसबुकमा पर्म लगाउँदै बस्न नभ्याउने र हामी अरुको भौतिक र आर्थिक फायदाको आशाको केन्द्रबिन्दु हुन नसके पनि धेरै नेपालीको भित्रैदेखिको हामीमाथि सहानुभूति र समर्थन छ भलै बिभिन्न कारणले गर्दा त्यस्लाई ब्यक्त गर्न समस्या परिराखेको छ । र कतिपयको बिभिन्न कारणबश औपचारिकताकै लागि भने पनि सहानुभूति र समर्थन नभएका पनि होइनन – यी कुरा बताइराख्नु पर्ने कुरा होइनन, सबैले बुझ्ने कुरा हुन ।
अन्तमा, हाम्रा पाठकहरुलाई भन्नै पर्ने केही कुरा छ कि?
हाम्रो पूर्बीय दर्शन अनुसार देव ॠण, पितृ ॠण, गुरु ॠण र माटोको ॠण चुक्ता नगरीकन मान्छेको जीवन सफल हुँदैन भन्ने भनाइ र मान्यता छ । अत: यो अभियानको उद्धेस्य प्राप्तीमा लाग्नु भनेको माटोको ॠण चुक्ता गर्ने एउटा महत्वपूर्ण अबसरलाई गुम्न नदिनु पनि हो । सबैले आ-आफ्नो क्षमता अनुसार केही न केही गर्न सक्नुहुन्छ । आँफैले केही गर्न नसके पनि फेसबुक, ईमेल मार्फत अरुले गरेको कामलाई प्रचार प्रसार गरिदिने, भिजिटिङ कार्ड तथा आ-आफ्नो ब्यापार ब्यवसायका माध्यमहरुमा उपयुक्त सामग्रीहरु राखिदिने जस्ता कामले पनि यो अभियानलाई सघाउ पुग्छ । सबैले प्रत्येक सेकेण्डमा हुन सक्ने संभाबित मृत्‍युलाई स्वीकार्दै नागरीकिय र पदीय दायित्व निर्बाह गर्ने हो भने नक्कली लुम्बिनी र नक्कली कपिलवस्तुलाई हाम्रोभन्दा भारत आँफैलाई घाँडो बनाउन सक्षम हुने कुरामा सन्देह छैन । यसो गर्न सकिएमा मात्रै नागरीकिय दायित्व त हुने छ नै साथै सत्यका पर्यायबाची बुद्धप्रतिको सच्चा आदरभाव पनि ।
(प्रस्तुत अन्तर्वार्ता नेपालीसंचारडटकमबाट लिइएको हो ।)

No comments:

Post a Comment